चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन शाखाको पदहस्तान्तरण सम्पन्न भएको छ । हिजो एक कार्यक्रम गरी नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो।निवर्तमान अध्यक्ष सन्दीप श्रेष्ठले नवनिर्वाचित अध्यक्ष रमेश रानालाइ माइन्यूट हस्तान्तरण गरी जिम्मेवारी सुम्पिएका हुन् ।
गत मंसिर २५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनले रानामगरको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष रानामगरले पुरानो कार्यसमितिबाट पूरा हुन बाँकी रहेका कामलाई सम्पन्न गर्दै जाने र नयाँ योजनासहित संस्थालाई अगाडि बढाउने बताए ।
नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा सम्पन्न कार्यक्रममा पदभार ग्रहण गरिसकेलगत्तै नयाँ कार्यसमितिको पहिलो बैठकसमेत सोही हलमा बसेको थियो।
नेपाल पत्रकार महासंघ चितवन शाखाका संस्थापक एवम् पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठ, फोनिजका केन्द्रीय सदस्य राजु चौधरी, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सहसचिव रामबहादुर भुजेल, सल्लाहकारहरु ईश्वरकुमार जोशी, अमरदेव प्रधानलगायतको उपस्थितिमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।
२५ गते सम्पन्न अधिवेशनले रानामगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सह–सचिवमा सविता दराई र कोषाध्यक्षमा कमलमान श्रेष्ठ सर्वसम्मत चयन भएका थिए ।
सदस्यहरुमा आश्मा राई ,अपेक्षा चौधरी, सुनिलकुमार श्रेष्ठ , मनोज चौधरी , सूचना गुरुङ , दीपेन्द्र चौधरी , बबिलाल तामाङ र प्रतिमा कुमाल चयन भएका थिए ।
https://ghatanachakra.com/2026