चितवन, असोज ८ । नेकपा माओवादी केन्द्रमा नफर्कीएर नेकपा एमालेमै रहेका पूर्व गृहमन्त्री रामबहादुर थापा वादलले चितवनमा प्रचण्ड विरुद्ध चुनाव लड्न आफू तयार रहेको बताउनुभएको छ ।
प्रेस चौतारी चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले प्रचण्ड पार्टीबाट पलायन भएर गुट निर्माण गरेको र आफू विरुद्ध प्रचण्ड नभई प्रचण्ड विरुद्ध आफू चुनाव लड्न तयार रहेको बताउनुभएको हो ।
नेता बादलले भन्नुभयो,“चुनावको विषयमा पार्टीले निर्णय गर्छ त्यसपछि थाहा हुन्छ तर वादल भर्सेस होइन प्रचण्ड भर्सेस वादल हुन्छ।” अहिले पछिल्लो समय माओवादी कार्यकर्ता समेत नेकपा एमालेमा आवद्ध हुनेक्रम बढेको दावी गर्दै उहाँले अहिलेको सरकार कम्फर्टेवल भएको र राष्ट्रियताको सवालमा कमजोर रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,“गृहमन्त्रालयले छिमेकी राष्ट्रविरुद्ध नवोल्न गरेको आदेशनै यो सरकार किन र कसरी भन्ने प्रष्ट हुन्छ । हामी राष्ट्रवादी एक छौँ तर उहाँहरु पुँजीवाद तर्फ जानुभयो। यथास्थितीलाई सुधार गर्न लाग्नुभयो ।”
साथै परिमार्जन सहित एमसीसी कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्नुभएका नेता बादलले सभामुख तटस्थ व्यक्तिको भूमिकामा रहन नसकेकोमा गुनासो गर्नुभयो । उहाँको व्यवहार नसच्चिएसम्म विरोध कायमै रहने समेत थापाले बताउनुभयो । साथै वादलले १० वुँदे कार्यान्वयनको चरणमा रहेको बताउँदै आफू रहेको पार्टी नै ठूलो पार्टी भएको बताउनुभयो ।
प्रेस चौतारी चितवनका कार्यवाहक अध्यक्ष मुकुन्द भुषालको अध्यक्षतामा भएको कार्यक्रम सचिव हेमराज रिमालले सहजीकरण गर्नुभएको थियो ।



