चितवन, साउन २४ । त्रिभुवन अन्तराष्ट्यि विमानस्थलबाट उडेको तीन मिनेटमै डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाइलट सहित पाँच जनाको मृत्यु भएको छ ।शिवपुरी जंगल कट्नासाथ हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा पर्दा उनीसहित चार चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको हो । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेर वरिष्ठ क्याप्टेन अरुण मल्ल,चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको हो ।

दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकोप्टरको काठमाडौं टावरसँगको अन्तिम संवाद १ बजेर ५७ मिनेटमा भएको थियो ।
म्याग्दीका क्याप्टेन मल्ल १३ वर्षदेखि एयर डाइनेस्टीमा थिए । उनी पुरानामध्येका पाइलट हुन् । मल्लका २ छोरी र पत्नी छन् । ३० वर्षदेखि चार्टर उडानमा रहेको डाइनेस्टीसँग चारवटा हेलिकोप्टर थिए । बुधबारको दुर्घटनापछि डाइनेस्टीसँग अब तीन हेलिकोप्टर बाँकी रहेका छन् ।
नेपालमा हेलिकोप्टरतर्फ भएको यो ४१ औं दुर्घटना हो । हेलिकोप्टर दुर्घटनामा ९८ व्यक्तिले ज्यान गुमाएका छन् ।
यसैबीच सरकारले यो दुर्घटनाको जाँच गर्न सैनिक पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।




