काठमाण्डौ । जनयुद्धको दिन सार्वजनिक विदा दिने निर्णयको आलोचनाका बाबजुद नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा जनयुद्ध दिवस मनाएको छ ।
नेकपा माओवादी केन्द्रले २८ औँ जनयुद्ध दिवस मनाएको हो । पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्ता लगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।
जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको प्रष्टीकरण दिए ।
जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले भने,“यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपर्थ्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’’
‘‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’’



