तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर ऋषिङ ४ मा एम्बुलेन्स खरिदका लागि लाखौँ रकम सहयोग गर्नुभएको छ । ऋषिङ ४ का निवर्तमान वडाअध्यक्ष भोजराज रानाभाटका अनुसार श्रेष्ठले आज नै नगदै हस्तान्तरण गर्नुभएको हो ।
आफ्नो जन्मदिनको अवसर पारेर श्रेष्ठले पिता गोपाल श्रेष्ठ र माताको सम्झनामा सो रकम सहयोग गर्नुभएको हो ।
रानाभाटका अनुसार गाउँपालिका अध्यक्ष श्रेष्ठले ५ लाख २५ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।
आफू वडाअध्यक्ष भएको समय रानाभाटले १० शैयाको अस्पताल बनाउन पहल गर्नुभएको थियो । सोही अनुसार अहिले ऋसिङ्ग गाउँपालिका ४ भिर्कोट मा निर्माणकार्य भईरहेको छ । सोही अस्पतालका लागि एम्बुलेन्स खरिद गर्ने प्रकृया २०७८ को अन्तिम महिना बाटै वडा नं ४ का सामुदायिक वनहरुबाट रकम सहयोग संकलन सुरु भएको थियो ।
वडाभित्रका थप्रेक ,गुम्लेक, भिर्कोट, रमुङ्ग र सिरकोट समेतका सामुदायिक बनहरु ऋसिङ्ग गा, पा,को अनुदान रकम को सहयोगमा अगाडि बढी सकेको र केही रकम अपुग भएको कारण गाउँपालिका अध्यक्ष श्रेष्ठले गर्नुभएको सहयोगले खरिदलाई थप बलियो बनाएको छ । सदरमुकामबाट दक्षिणतर्फ रहेको यो ठाउँबाट अस्पताल जान आउन अहिले सार्वजनिक सवारी साधनको प्रयोग गर्नुपर्ने वाध्यता छ । सोही वाध्यता हटाउन एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएको थियो ।
नगद सहयोग प्रति ऋसिङ्ग ४ भिरकोटका जनता र आफ्नो ब्यक्तिगत तर्फबाट आभार व्यक्त गर्दै चाँडै एम्बुलेन्स खरिद गर्ने निवर्तमान वडाअध्यक्ष रानाभाटले बताउनुभयो ।




