चितवन । चितवनको नेपाल पत्रकार महासंघ सहितका पत्रकार संग सम्बन्धित संघसंगठनले पत्रकारलाई कुट्न निर्देशन दिने नेपाल विधुत प्राधिकरण भरतपुरका कार्यालय प्रमुखलाई पक्राउ गर्न माग गरेकाे छ ।
एक विज्ञप्ति जारी गर्दै पत्रकार महासघ चितवनका सदस्य कृष्ण आचार्य समाचार संकलनको क्रममा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुर कार्यालयमा जाँदा मंदिराले मत्त कर्मचारीहरुले कार्यालय परिसर र गेट बाहिर पनि लखेटी लखेटी आक्रमण गर्न हदैसम्मको अमानवीय र निन्दनीय कार्य ठहर भएकाे भनिएकाे छ।
कार्यालय प्रमुख राजिव सिंहको निर्देशनमा बदनियतपूर्ण मनसाय राखी सांघातिक आक्रमण भएको प्रति पत्रकार महासंघ र हामी पत्रकार सम्बद्ध सबै संघसंस्थाको गम्भीर ध्यानाकर्षण भएको र आचार्य पत्रकार हुन् भन्ने चिन्ने व्यक्ति कार्यालय प्रमुख मात्र रहेकाले कुटपिटका लागि उनैले निर्देशन दिएको भन्नेमा दुईमत नभएको विज्ञप्तिमा भनिएकाे छ ।
“सामान्य नागरिकले पनि पहुँच राख्ने सार्वजनिक निकायमा समाचार संकलन गर्न जाँदा मुद्दालाई प्रभावित पार्न अनेक लाञ्छनासमेत लगाउन खोजिएको छ । पीडितले कार्यालय प्रमुख सहित ८ जना विरुद्ध नाम नै किटेर जाहेरी दिंदा समेत कार्यालय प्रमुख अगिरफ्तार नहुनु कतै मुद्दालाई प्रभावित पार्ने खेल त होइन ? भन्ने हामीहरुको आशंका छ । कार्यालय प्रमुख सिंहलाई तत्काल पक्राउ गरी अनुसन्धानलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई हामी आग्रह गर्दछौं । साथै सम्पूर्ण पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त •अधिकारको सुनिश्चितता गर्न जोडदार माग गर्दछौं ।”
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल, चितवनका अध्यक्ष सुवास पण्डित,प्रेस युनियन, चितवनका अध्यक्ष अनिल ढकाल,प्रेस सेन्टर, चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य,समाजवादी प्रेस संगठन, चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना, मिडिया नेपाल, चितवनका अध्यक्ष समिक्षा पुरीले संयुक्त हस्ताक्षर गरेर जारी विज्ञप्तिमा दाेषीलाइ नउम्काउन भन्दै गहिराे अनुसन्धान गर्न माग गरिएको छ ।



