चितवन । हराएको माेबाइल फेला पार्नमा चितवन प्रहरी अब्बल देखिएकाे छ । विभिन्न कारणले माेबाइल हराएपछि चितवन प्रहरीमा उजुरी दिएपछि प्रहरीले खाेज्न थाल्दछ ।
पछिल्लो समय एकै पटक २१ वटा माेबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेकाे चितवन प्रहरीले जनाएको छ।
बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट मोवाईल फोन हराएको निवेदनको आधारमा खोजतलास गरी चितवन सहित काठमाण्डौ, पर्सा, नवलपरासी जिल्लामा चलाईरहेको अवस्थामा ती माेबाइल फेला पार्न प्रहरी सफल भएको हाे । 
हराएका २१ थान मोवाईलमा आइफाेन,सामसुङ, रेडमी,ओप्पाे,भिभाे,पाेकाे ब्रान्डका मुल्य रु. १४ हजारदेखी १ लाख २५ हजार सम्म पर्ने जम्मा ५ लाख २५ हजार बराबरका मोवाईलहरु फेला पारी आज मोवाईल धनीलाई बुझाईएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयाे ।
हराएको माेबाइल फेला पारेर पाउदा निवेदनकर्ताहरु खुशी भएका छन् । प्रहरीले यसअघि पनि हराएका माेबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाउंदै आइरहेकाे छ ।



