चितवन । गृहमन्त्री बालकृष्ण खांण चितवन आउनुभएको छ । कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री खाँण आज चितवन आउनुभएकाे हाे । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उहांसंग डिल गर्ने बताईएकाे छ।
सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । त्यसपछि मेयरमा बागी उमेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर-७ स्थित पिपल चोक जाने बताइएकाे छ ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताउनुभयाे। असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उहांले भन्नुभयाे, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’
बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने उहाँको भनाइ छ ।



