काठमाडौं । हिजो सोमवार लगातार दुई पटक बैठक बसेपनि भागवण्डा मिलाउन नसकेपछि सत्तागठबन्धनको बैठक आज पनि बस्ने भएको । आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि बैठक बस्ने भएको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ–आफ्नै दाबी रहेको कारण सहमति नभएको हो ।
६ महानगर र ११ उपमहानगरमा कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा अझै दाबी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ ।
पोखरामा समाजवादीले दाबी यथावत राखेपछि तत्कालै पोखराबारे निर्णय नलिने विषयमा पनि गठबन्धनमा छलफल भएको छ । त्यस्तै माओवादीले भरतपुर महानगरमा आफ्नो दाबी गरिरहेको छ ।
भरतपुरमा मेयर माओवादीले लिएर उपमेयरसहित सबै वडाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको भनिएको छ । तर यसबारे पनि टुंगो लागिसकेको छैन । केन्द्रमा अनिर्णीत हुँदा जिल्ला तहमा पनि अन्यौलता छाएको छ । उम्मेदवार वन्न इच्छुकले नाम टिपएका छन् तर त्यसपछिको प्रकृया अन्यौल छ ।
विभिन्न जिल्लामा आफ्नो दाबीबाट पछि हट्न परे गठवन्धन नमान्ने सम्मको चेतावनी आएपछि बाँडफाँडमा थप समस्या देखिएको छ । चितवनमा अघिल्लो पटक माओवादीलाई समर्थन गरेको भन्दै यस पटक काँग्रेसले पाउनुपर्ने अडान छ ।
माओवादीले पनि हालको मेयर रेनु दाहालले विकास गरेको भन्दै एक कार्यकाल दोहोर्याउनुपर्ने अडान छाडेको छैन । अन्य जिल्लामा पनि विभिन्न सत्तारुढ दलहरुको दाबी रहेकै कारण सहमतिमा पुग्न सकिरहेका छैनन् ।



