भरतपुर । बैशाख २ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनको विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरिएको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने आमसभामा उल्लेख्य सहभागिता हुने बताउनुभयो ।
आमसभालाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ । आमसभा सफल पार्न १६ वटा उपसमितिहरु बनाइएका छन् । “चुनाव लक्षित आमसभा होइन, देशमा व्याप्त भ्रष्टाचार, वेथीति र उत्पीडन विरुद्धको खबरदारीसभा हो”, उहाँले भन्नुभयो, “राप्रपाले अंगिकार गरेको राजनीतिक, आर्थिक, सामाजिक अवधारणालाई जनतामाझ सूसूचित गराउनेछौँ ।”
आमसभा हुने स्थल पारसबसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले चौरबाट झण्डै २५ ट्रिपर फोहर संकलन गरिएको बताउनुभयो ।
उहाँका अनुसार जेसीवी, ग्रेडर, रोलर लगाएर चौरलाई सम्याउने, सफा गर्ने काम गरिएको छ । आमसभास्थलमा २ वटा मञ्च बनाइने छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्च बनाइने उहाँको भनाई छ ।
जिल्ला उपाध्यक्ष जीवलाल पुरीले चितवनका ९८ वडाकै जनता आमसभामा सहभागि हुने बताउनुभयो । उहाँका अनुसार आमसभाकै कार्यक्रममा चितवनबाट अन्य दल परित्याग गरी ३ हजार बढी राप्रपामा प्रवेश गर्ने कार्यक्रम समेत रहेको जानकारी दिनुभयो ।



