चितवन । डिभिजन वन कार्यालय चितवनले यो वर्ष २ लाख ५० हजार विरुवा उत्पादन गर्दैछ । सहायक वन अधिकृत वालकृष्ण खनालका अनुसार चितवनाई हरियाली गराउन ती विरुवा निःशुल्क वितरण गरिनेछ । त्यो बाहेक थप ५ हजार वहूवर्षीय विरुवा उत्पादनको काम समेत भइरहेको खनालले बताउनुभयो ।

संघ शसर्त कार्यक्रमबाट १ लाख र जिल्ला वन पैदावर आपूर्ति समितिबाट १ लाख ५० हजार विरुवा उत्पादन गर्ने कार्यक्रम अनुसार यसरी विरुवा उत्पादन हुँदै आएको छ । वातावरण संरक्षण तथा सहरी वन कार्यक्रमबाट थप ५ हजार विरुवा उत्पादन हुने र यो तीन वर्षपछि वितरण गरिनेछ । यसरी कुल २५ लाख खर्च हुने खनालले बताउनुभयो ।
सडक छेउछाउमा रोप्न मिल्ने,रुख प्रजातीको, जडिवुटी, फलफूल जातको विरुवा वर्षेनी उत्पादन गर्ने र चितवनका स्थानीयलाई निःशुल्क वितरण गर्दै आइरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय विरुवा रोप्नुपर्छ भन्ने सन्देश फैलिँदै गएकाले यसको माग बढीरहेको खनालले बताउनुभयो । स्थानीय तह, वडा, टोल विकास संस्था आदिले पनि वृक्षारोपण कार्यक्रम गर्नाले यसको आवश्यकता बढ्दै गएकाले यसरी विरुवा उत्पादन गरेर विक्रि गर्ने गरेको उहाँको भनाई छ ।
असार १५ पछि विरुवा वितरण गरिन्छ । विरुवा वितरणपछि अनुगमन समेत हुने कार्यालयले जनाएको छ । असार १५ गते वितरण गर्ने विरुवाहरु रोप्ने, हुर्काउन रेखदेखका लागि नर्सरी नाइके अम्बिका देवी शर्मा खटिनुभएको छ । उहाँको नेतृत्वमा अहिले बकाईनो,सरिफा,बेल,गुर्जेगानो,राजवृक्ष,अमला,अम्बा,म्याङ्गोस्टिक, कपुर, धुपी,कागती,निम,तेजपत्ता काठेजमुना,ईपिलिपी,गुलाफ जमुना,चेरी,कटहर,राई खनिउ,पारिजात,चिउरी, बडहर,निमारो,कल्कीफुल,रुद्राक्ष, श्रीखड,रक्तचन्दन,खमारी,शित्तल चिनि जातका विरुवा अहिले हुर्किरहेका छन् ।

विगत १० वर्षदेखि काम गर्दै आएको बताउने शर्माले विरुवा लगेर रोपेपछि राम्रोसँग हुर्काउन आग्रह गर्नुहुन्छ ।



