चितवन । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनका प्रमुख हुनुहुन्छ प्रहरी निरीक्षक सुवास भट्ट । भट्ट अपराध, कानुन विपरीत हुने कार्य तथा घटनाको अनुसन्धानमा आफूलाई अब्बल सावित गरिसक्नुभएको छ।
जिल्ला प्रहरी कार्यालयमै पनि अनुसन्धानको पाटोमा रहेर राम्रो अनुभव सहित र प्रतिफल दिनेगरी काम गर्दागर्दै उहाँलाई खैरहनीको जिम्मा दिएर सरुवा गरिएको थियो ।
त्यहाँ रहेर अदालतहरुबाट विभिन्न मितिमा भएका फैसला, असुल गर्नुपर्ने जरीवाना तथा फैसला कार्यान्वयनमा परिणाम दिनेगरी काम गर्न सफल भएको भन्दै चितवन जिल्ला अदालतले कदर-पत्रबाट सम्मान गरेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलले आज भट्टले आफ्नो जिम्मेवारीमा देखाउनुभएको काम तथा ती फैसला कार्यान्वयनका लागि सक्रिय सहभागीता एव योगदान दिएको भन्दै अदालतबाट कदर-पत्र प्रदान गरिएको बताउनुभयो ।
आज उहाँलाई एक कार्यक्रमकाबीच कदरपत्र प्रदान गरिएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी लगायतको उपस्थिती थियो ।



