चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकालले केपी ओलीले साँढे तीन वर्षको कार्यकालमा गरेका कार्यहरु लिएर आगामी चुनावमा जाने बताउनुभएको छ । प्रेस चौतारी नेपाली जिल्ला शाखा चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ढकालले चुनावका लागि घोषणापत्र बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । मूल प्रतिस्पर्धी नेपाली काँग्रेस रहेको भन्दै ढकालले काँग्रेस सहित गठवन्धन सरकार बनाउन जनताको शक्ति नभई अदालतको साहारा लिने पार्टी रहेको बताउँदै केपी ओली नेतृत्वको सरकारले राष्ट्रियता र समृद्धिका लागि गरेका कार्य सहित आगामी योजना लिएर चुनावमा जाने बताउनुभयो ।
साथै नेकपा एमाले नेतृत्वमा रहेका स्थानीय सरकारले गरेका सकारात्मक कार्य पनि समावेश गर्ने उहाँको भनाई थियो । उहाँले नेकपा एमालेमाथि हुन सक्ने जस्तोसुकै चुनौतिलाई प्रहार गर्ने क्षेप्यास्त्र तयारी अवस्थामा रहेको भन्दै माधव नेपालको पार्टी अवैधरुपमा खडा भएको बताउनुभयो । माधव नेपाल वाहेकका पार्टी जसलाई निर्वाचन आयोगले मान्यता दिएका छन्, ती दलसँग चुनावमा तालमेल हुने बताउनुभयो । साथै गठवन्धनमा रहेका दलहरुले एकले अर्कालाई थर्काउन नेकपा एमालेलाई देखाएको भन्दै यदी प्रचण्डले शरण माग्न आए स्थान दिन तयार रहेको र ढोका खुलै रहेको उहाँको भनाई थियो ।
जिल्ला अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रम रविना पौडेलले सहजीकरण गर्नुभएको थियो ।



