भरतपुर । भरतपुर महानगरपालिकाले सात वटा सहकारीलाई विभिन्न अनुदानमा आवश्यक सामाग्री वितरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहाल र उप–प्रमुख पार्वती शाह ठकुरीले १७ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।
महानगरले समाज उत्थान कृषि सहकारी संस्था भरतपुर २१ र सर्वोद्धय बहुउद्देस्यीय सहकारी संस्था भरतपुर ६ लाई ५/५ लाख बराबरको तोरी मिल, भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामाग्री, नव सुन्दर बहुउद्देस्यी सहकारी संस्था भरतपुर १४ लाई १ लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई १ लाख रुपैयाको कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
त्यस्तै उज्जवल बहुउदेस्य सहकारी संस्था भरतपुर १४ लाइ १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्धमी महिला सहकारी संस्थाभरतपुर २४ लाई १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले बताईन् ।
महानगर देशकै सहकारीको जननी भएकाले महानगरमा राम्रो गरेका सहकारीहरुको स्तर बिकासका लागी अनुदान दिएको महानगर प्रमुख रेनु दाहालको भनाई छ । सहकारीले समाजमा भएको गरिबिलाई न्यूनिकरण गर्न योगदान दिएकाले आफुहरुलेपनि सहकारीको बिकासमा ध्यान दिएको उपप्रमुख पार्बती शाह ठकुरीले बताइन ।
२० महिलाले पाए बाख्रा

भरतपुर महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले वडा नम्वर ९ का २० जना महिलाहरुका लागी बिउपुजी हस्तान्तरण कार्यक्रम अन्तर्गत बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागी नगद हस्तान्तरण गरेको छ ।
बाख्रा पालन गर्नेहरुलाई बाख्रा र बोका , कुखुरा पालन र तरकारी खेती गर्नेहरुका लागी बिउपुजी स्वरुप प्रति ब्याक्ति नगद १० हजार प्रदान गरिएको महिला बिकास निरिक्षक अप्सरा घिमिरेले बताइन् । उनीहरुलाई तिनदिने सिप बिकास तालिम दिएर उनिहरुकै माग अनुसार बिउपुजी दिईएको महानगर प्रमुख रेनु दाहाले बताईन् ।
उक्त कार्यक्रम अन्तर्गत महानगरका २०० महिलालाई बिउपुजी हस्तान्तरण गरिने नगर प्रमुख दाहालको भनाई छ ।



