चितवन । राष्ट्रिय प्रजातन्त्रका पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको आरोप लगाएका छन् । भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा आयोजित बृहत नगरभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लालपुर्जा दिन सरकार असफल बनेको दाबी गरे ।
“चुनावमा घरघर लालपुर्जा दिन्छु भने, अहिल निस्सा बाँड्दै हिडेका छन्”, उनले भने, “आयोगको छापविनाको निस्सा बाँडेर जनतालाई झुक्याउने कामको खबरदारी गरौँ ।” भूमिहिन तथा सुकुम्बासीलाई चुनाव जितेर गएपछि बिर्सिएकाहरुले चुनावको मुखमा निस्सा बाँड्दै हिड्न थालेको जीकिर गरे । “लालपुर्जा वितरण गरौँ, भूमीको स्वामित्व दिन लाग्नुपर्छ”, उनले भने , “बसिरहेको घर तथा जग्गाको निस्सा अर्थात चिटले समस्या हल हुदैन ।”
वन तथा भूमिसुधार पूर्वमन्त्री समेत रहेका उनले एमसीसी सम्झौता अनुमोदन गर्दा गरिएको व्याख्यात्मक टिप्पणी अर्थहिन भएको बताए। दुई देशबीच भएको सम्झौता एकतर्फि निर्णय गरेर संसोधन गरिएको भनेर जनतामा भ्रम छर्ने काम भएको बताए ।
ठुला दलहरु सम्पत्ति हिनामिना गर्दा, देश बेच्दा दलहरु एक ढिक्का बन्ने गरेको एमसीसी अनुमोदन गर्दा देखिएको बताए । देश बेच्नेहरुलाई परास्त गर्न राष्ट्रवादी शक्तिहरु एकहुनुपर्नेमा जोड दिए। “युक्रेनमा रुसले आक्रमण गर्दा राष्ट्रवादी शक्तिहरुले प्रतिवाद गरेजस्तै देश बेच्नेहरुलाई देशबाटै लखेट्नुपर्छ”, पूर्वमन्त्री पाण्डेले भने, “देश बचाउन सबै एकजुट बनौँ ।” राप्रपा भरतपुर महानगर कमिटिले आयोजना गरेको नगरभेलामा अन्य परित्याग गरेर आउनेहरुलाई पार्टी प्रवेश गराइएको छ । आज ५ सय ७० जना राप्रपा प्रवेश गरेका छन् । केही महिना यता राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ ।



