चितवन । सात स्थानीय तहमा इच्छाकामना एक मात्रै गाउँपालिका हो । राजधानी प्रवेश गर्ने मुख्य सडक देखि सडकपूर्वाधार वल्लतल्ल पुगेको हात्तीवाङ सम्म यो गाउँपालिकाको क्षेत्र हो । शहरी क्षेत्रदेखि विकट काउलेसम्मको जनताका अभिभावक हो इच्छाकामना गाउँपालिका जसको अध्यक्षमा छन् गीता कुमारी गुरुङ ।
चेपाङ समुदायको समेत धेरै वसोवास रहेको गाउँपालिकामा एउटा पनि अस्पताल नहुँदा जनताले सहज उपचार पाउन सकिरहेका थिएनन् । अझ कोरोनाको समय त झन् अक्सिजन सहितको सेवा दिन नपाउँदामा पीडाले जनतासँगै जनप्रतिनिधिलाई पनि उत्तीकै चिन्तित बनायो । फलस्वरुप इच्छाकामना अस्पताल स्थापना भएको बताउँछिन् अध्यक्ष गीता कुमारी गुरुङ । गुरुङ भन्छिन्,“सास फेर्न नसकेर जनता आत्तिएको देखेपछि हामीले तत्काल अस्थायी अस्पताल संचालन गर्यौँ र त्यसैलाई अहिले अस्पतालको रुपमा अघि बढायौँ ।”


सुरुमा अक्सिजन सहितको कोभिड अस्थायी अस्पताल गाउँपालिका परिसरमा संचालन गरेर जनतालाई सेवा दिन थालियो । विस्तारै कोभिड कम हुँदै जाँदा त्यसैलाई अस्पतालको सेवामा विस्तार गरेको अध्यक्ष गुरुङको भनाई छ । अध्यक्ष गुरुङले भनिन्,“हरेक नागरिकले स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने संविधानमै उल्लेख छ । त्यसको प्रत्याभूत गराउन पनि अस्पताल जरुरी थियो । हामीले गाउँपालिकाको नीति तथा कार्यक्रममै राखेर योजना अघि बढायौँ र सफल पनि भयौँ । ”
बिरामी हुँदा कि भरपतुर कि पोखरा वा काठमाण्डौ जानुपर्ने वाध्यता यहाँका जनतालाई थियो । गुरुङ भन्छिन्,“हामी जनताको सेवक हो । हिजोका दिनमा भोगेका पीडालाई समाधान गर्न स्थानीय सरकार आएपछि अस्पतालको सेवा दिएका हौँ । नाम सहित व्यवस्थि तगर्न अझै वाँकी छ तर सेवा सुरु भइसक्यो । ”
स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जनप्रतिनिधिकै पहल भएर अस्पतालको रुप लिएको बताउँछन् । विगत सम्झदै उनी भन्छन्,“स्वाथ्य चौकीको भन्दा माथिल्लो कुनै अस्पताल यहाँ थिएन । जनप्रतिनिधि आएरै वल्ल यतिको सेवा दिन सफल भयौँ ।”
उनका अनुसार धेरैजसो दातृसंघ संस्थाको सहयोग र केही गाउँपालिकाले अस्पतालको सेवा दिन स्वास्थ्य सामाग्री खरिद गरेको हो । अहिले एक्सरे मेशिन, भिडियो एक्सरे, इसीजी मेशिन, फ्याक्सीन मनीटरहरु, वेड तथा विभिन्न मेशिन उपलब्ध भएपछि चिकित्सकको आवश्यकता खड्कीयो । त्यसपछि गाउँपालिकाले आफ्नै स्रोतमा एक जना डाक्टर नियुक्त गरी सेवा दिँदै आएको छ ।
अहिले गाउँपालिकाको कार्यपालिका बैठकले पनि १५ बेडको इच्छाकामना अस्पताल संचालन गर्ने निर्णय समेत गरिसकेको छ । पूर्वाधार तयारी अवस्थामा रहेको गाउँपालिकाले अस्पतालको सेवा दिइरहेको छ ।
भविष्यमा ग्रामीण भिडियो एक्सरे सेवा, भरतपुरबाट विशेषज्ञ डाक्टर ल्याएर सेवा दिने साथै थप विकासका लागि बागमती प्रदेशले चिकित्सक लगायतको दरवन्दी सहित आवश्यक सहयोग गर्ने मौखिक बाचा पाएको बताए।
एक्सरे गर्न, गर्भवती जाँच, मुटुको सामान्य अवस्था जाँचका लागि पनि भरतपुर जानुपर्ने वाध्यताको अन्त्य भएको उनको भनाई छ ।
अस्पतालको आधारभूत सेवा दिन खटिएकी छिन् डा विकिरण सिलवाल । अहिले सिजनल फ्लु्,हाडजोर्नीका विरामी, भरतपुर गएर रिर्पोट बनाएका विरामीलाई परामर्श तथा औषधि सेवन सिफारिस तथा डाइवेटिजका विरामी र गर्भवतीको जाँच नियमित भइरहेको छ। साथै हाइवे भएकाले दुर्घटनाबाट घाइतेको शीघ्र उपचार गर्ने र रिफर गर्ने काम भइरहेको उनले बताइन् । अहिले दैनिक २० देखि २५ जनाले सेवा लिइरहेका छन् ।
गर्मी समय ४० जनासम्म विरामी पुग्ने गरेका छन् । इच्छाकामना हेल्थपोष्टमा रहेको यही ठाउँलाई विस्तार गरेर २२ वेडको अस्पताल सम्म बनाउन सकिने सम्भावना छ । अव केही मेडिकल अधिकृत थपेर २४सै घण्टा सेवा दिने तयारी भइरहेको उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार अस्पताल सँगै अस्पताल आउन समय लाग्ने टाढा टाढाका वडाहरुमा ११ वटा स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिइएको छ ।
स्याङ्गदी, मुग्लिन र माझगाउँमा प्रयोगशालाको सुविधा दिन प्रकृया अघि बढाइएको छ । जसको स्थापना पश्चात ससाना चेकअप र रिर्पोटको सुविधा सोही ठाउँमा हुने गुरुङको भनाई छ ।



