चितवन । फागुन १५ देखि सुरु भएको रत्ननगर महोत्सवमा दर्शकहरु बढ्दै गएका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी महोत्सवको मंगलवार एकैदिन १५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । महाशिवरात्री समेत भएका कारण दर्शकहरु धेरै आएका आयोजकको भनाई छ ।

महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले महोत्सवमा दर्शकहरुको भीड लाग्ने गरेको बताए । जाडो सकिएर गर्भी सुरु भइसकेको समयमा अबलोकनकर्ताहरु कमि हुन्छनकी भन्ने आशंका गरिरहेका बेला मंगलवारको उपस्थितिले त्यस्तो आशंका मेटाएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज चर्चित गायिका भूमिका गिरी, रचना रिमाल, गायक भूवन प्यासी,गायिका विन्दु परियारले मनोरन्जन दिएका थिए ।
मंगलवारनै जादुगर बलराम गिरीले जादुकला तथा स्थानीय गायक अर्जुन गुरुङले प्रस्तुती दिएका थिए । त्यसैगरी स्तब्ध व्याण्ड र ड्रिम्स डान्स एकाडेमीको प्रस्तुती समेत रहेको कला तथा साँस्कृतिक समितिका संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए ।
बुधवार भोलि गायक राजु परियार,गायिका दुर्गा सापकोटा,गायक गोविन्द अधिकारी,जादुगर बलराम गिरीको प्रस्तुती रहने सापकोटाले जानकारी दिए ।
फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्समा महोत्सवमा ४२५ स्टल रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।



