रत्ननगर । रत्ननगर नगरपालिकाका मेलमिलापकर्ताहरुको लागि तीन दिने प्रशिक्षण कार्यक्रम सोमबार देखि यहाँ सुरु भएको छ । न्याय सम्पादनमा आइपर्ने कानुनी झन्झटको बारेमा प्रक्रियात सरलताको विषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।
नगरपालिकाको सहयोगमा मेलमिलाप केन्द्र रत्ननगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन न्यायिक समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले गरेकी थिइन । सो अबसरमा उनले मेलमिलापकर्ताहरुको सक्रियताका कारण ग्रामिण क्षेत्रका विवादहरु वडा तहमै साम्मे हुने गरेको बताइन् । दुबै पक्षको चित्त बुझाएर मेलमिलाप गराउन सक्ने सामान्य विषय नभएको भन्दै त्यसका लागि रत्ननगरका मेलमिलापकर्ताहरु सक्षम रहेको उनको भनाई छ ।
कार्यक्रममा कविता अधिकारी र बन्धुराज पौडेलले सहजीकरण गरेका छन् । केन्द्रकी अध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा १६ वटा वडाका ५५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको सचिव रिता थापाले जानकारी दिइन । उपाध्यक्ष हरिबहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए ।



