अमलटारी, फागुन १ । नेपाल पत्रकार महासंघ नवलपुरले आयोजनामा गरेको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। हिजोदेखि अमलटारीमा भएको तालिममा प्रशिक्षक अखण्ड भण्डारी र अधिवक्ता भुपेन्द्र खनालले भाषा र कानुनको विषयमा जानकारी गराए ।
जिल्लाका पत्रकारहरुलाई दक्ष, व्यवसायिक गराउन तालिम आयोजना गरेको महासंघ अध्यक्ष बीरेन्द्र पराजुलीले बताए ।
महासंघले सीमित स्रोत र साधनकावीच समसामयिक विषयमा तालिम दिन सफल भएको भन्दै आगामी दिनहरुमा समेत निरन्तरता दिने भनाई थियो । तालिमका लागि कावासोती नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गरे । आफू अध्यक्षमा निर्वाचित भएको पहिलो बैठकबाट तालिम र भवन निर्माण गर्ने मूल लक्ष्य लिएको र सोही अनुसार काम भइरहेको उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिकाका उप–प्रमुख प्रेमशंकर मर्दनियाले तालिमका सिकाईले पेशामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । देशको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै सही सूचना समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।
सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तालिमले क्षमतावृद्दिमा सहयोग पुगेको प्रशिक्षार्थी प्रकाश भण्डारी र चन्दा गुरुङको भनाइ थियो ।
समापन कार्यक्रममा पत्रकारहरुको पेशागत संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । जसमा प्रेस युनियनका उपाध्यक्ष श्रीधर उपाध्याय,प्रेस सेन्टरका अध्यक्ष भूमिश्वर पौडेल, प्रेस चौतारीका अध्यक्ष सालिक कोइराला, वान गण्डकी उपाध्यक्ष सागर पोख्रेल, प्रेस चौतारीका केन्द्रीय सदस्य विद्रोही गिरी रहेका थिए ।



