चितवन । चितवनको भरतपुर महानगरपालिकाले बालबालिका संग मेयर कार्यक्रम मार्फत न्यानो कपडा वितरण गरेको छ । बाल विकासदेखि कक्षा पांच सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कोभिड संक्रमणको जोखिम रहेपछि विद्यार्थीको भौतिक उपस्थितीमा नभई विद्यालय मार्फत विद्यार्थीलाई दिनेगरी आज सभाहलमा कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बन्चित हुन नदिन विगत तीन वर्षदेखि यो कार्यक्रम गरेको जानकारी दिनुभयो । राप्ती र नारायणी नदि किनारमा रहेका वालवालिकालाई लक्षित गरेर कार्यक्रम गरेको र यसले सामुदायिक विद्यालयमा विद्यार्थी बढ्न थालेको बताउनुभयो ।
संघ सरकारको दिवा खाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न वालवालिकालाई सजिलो भएको उहाको भनाइ थियो । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नया विद्यार्थी संख्या थप्ने महानगरले लक्ष्य लिएकोमा हालसम्म ६ हजार नयां विद्यार्थी थपिएको बताउनुभयो । शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको मेयर दाहालको भनाई थियो ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले १५ लाख बजेट विनियोजन गरेर टेण्डर गरि न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । महानगरका १० वटा आधारभुत विद्यालय छनोट गरि ती विद्यालयका १२२० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । विगतका वर्षमा वितरण गरिएको विद्यालय वाहेक अन्य विद्यालय छनौट गरेको शिक्षा अधिकृत ऋषिराम शर्माले जानकारी दिनुभयो ।
कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाई संयुक्त हस्तान्तरण गरिएको हो । अव विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामको आधारमा विद्यार्थीहरुलाई प्रदान गर्नेछन् । वितरण पछि प्रभावकारी अनुगमन गर्ने शिक्षा शाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै लेवानगर आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बरालले महानगरको यो कार्यक्रम सहयोगी भएको भन्दै आयस्तर कम भएका परिवारका वालवालिकालाई ठूलो सहयोग भएको बताउनुभयो । कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै महानगरको सहयोगलाई उदाहारण दिँदै अव अभिभावकले पनि खेल्नुपर्ने भूमिकावारे सचेत गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय आधारभूत विद्यालय खत्रौलीका अध्यक्ष तोपबहादुर गुरुङले न्यानो कपडाले यो जाडोमा पनि विद्यालय आउन ठूलो सहयोग पुर्याउने भन्दै महानगरलाई धन्यवाद दिनुभयो ।



