हेटौडा । सन्तबहादुर प्रजा बागमती प्रदेशको राज्यमन्त्रीमा नियुक्त भएका छन् । यो सँगै चेपाङ समुदायबाट राज्यमन्त्री वन्ने उनी पहिलो व्यक्ति वनेका छन् ।
नेपाली कांग्रेसबाट सांसद बनेका उनी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री बनेका हुन् ।यसअघि नेकपा एमालेका नेता गोविन्दराम चेपाङ मकवानपुरबाटै प्रतिनिधित्व गर्दै संविधान सभा सदस्य बनेका थिए।
राज्यमन्त्री पाएपछि चेपाङ समुदायमा खुसीयाली छाएको छ। मकवानपुरकै विकट क्षेत्र काँकडामा जन्मिएका उनी २०४८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन्। मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । नवनियुक्त राज्यमन्त्री चेपाङको शपथग्रहण पनि भइसकेको छ । शपथ लिएपश्चात् राज्यमन्त्री चेपाङले चेपाङ समुदायबाटै पहिलो मन्त्री बन्न पाएकोमा पार्टी र सरकारप्रति आभार प्रकट गरे ।सिंगो चेपाङ समुदायको निम्ति आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने,‘सरकारले घरभाडाबापत दिने पैसावाट चेपाङहरुको स्वास्थ्य बिमा गरिदिन्छु ।’
चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । चेपाङ समुदायमा १२ वर्षको उमेरदेखि नै विवाह हुने गर्छ ।
८ कक्षासम्म अध्ययन गरेका ४६ वर्षीय चेपाङले २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । सुरुदेखि नै उनी कांग्रेसमा आबद्ध छन् । त्यसो त उनका बुबा पनि कांग्रेसका कार्यकर्ता थिए ।
कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसमेत रहेका सन्तबहादुरले नेपाल चेपाङ संघको जिल्लादेखि केन्द्रसम्मको जिम्मेवारी बहन गरिसकेका छन् ।
पहिलो संविधानसभा सदस्य एमालेबाट मकवानपुरका गोविन्दराम चेपाङ र माओवादीबाट गोरखाकी राममाया चेपाङ बन्न सफल भएका थिए । दोस्रो संविधानसभामा चेपाङहरुको उपस्थिति नै रहेन ।
मकवानपुर, चितवन, गोरखा, धादिङ र तनहुँ जिल्लामा चेपाङ समुदायको बाक्लो बस्ती छ तर सात वटा प्रदेशमध्ये वाग्मती प्रदेशमा चेपाङ जातिबाट एकजना मात्र प्रदेशसभा सदस्य रहेका छन् । तीनै चेपाङ सन्तबहादुर राज्यमन्त्रीमा नियुक्त भएका छन् । २०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ ।




