काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त पहिलो चरणमा भएको निर्वाचनबाट कुनैपनि उम्मेदवारले ५० प्रतिशत ल्याउन नसकेपछि पुन मतदान हुने भएको छ ।
सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने र त्यसका लागि दिउँसो साढे ३ बजेदेखि कार्यतालिका बनाएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । कोइराला वाहेक अन्य सवै सभापति पदका उम्मेदवारहरुलाई देउवालाई समर्थन गरेका छन् ।
पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । आउट भएका उनीहरुले देउवालाई समर्थन गरेका छन् । कोइराला अव चुनाव लड्छन वा सर्वसम्मतका लागि आफूले छाड्छन् हेर्न वाँकी छ ।



