चितवन । कात्तिक २९ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग चारवटा मैदानमा खेलाइने भएको छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यस पटकदेखि चार मैदानमा खेलाइने भएको हो ।
मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रङ्गशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उद्घाटन हुँदै छ । पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दा दशरथ रङ्गशालामा उद्घान समारोह हुनेछ । दशरथ रङ्गशालमा उद्घाटन हुने खेल पाँच बजे सुरु हुनेछ ।
उद्घाटन खेल ‘फ्लड लाइट’ खेलाउने तालिका बनाएको एन्फाले दशरथ रङ्गशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रङ्गशालामा खेलाउने सक्ने बताएको छ । २०७२ को भूकम्पपछि बनेको नयाँ रंगशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो तीन बजे हुनेछन् ।
एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र सङ्कटा क्लबबीच आयोजना हुनेछ । उक्त खेल दिनको १२ बजे हुनेछ । कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रिपूर्ण खेल खेलेका छन् । जुन प्रि–सिजनअघिको अभ्यास खेलको रूपमा ब्याख्या गरिएको छ ।
तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।
यस्तै, चौथो खेलस्थलको रूपमा पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । जसलाई मनाङले घरेलु मैदानको रूपमा प्रयोग गर्ने योजनामा छ । सोहीअनुसार तालिका बनाउनु पर्ने भएकाले दुई चरणका खेललाई मात्र खेलस्थल, मिति र समय तोकिएको हो ।
कोरोनाका कारण सिमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेसनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।



