चितवन । चितवनका पत्रकार द्वारिका नेपालको आज देवघाटमा अन्त्यष्टी गरिएको छ । मष्तिस्कघातका कारण काठमाण्डौमा उपचार हुँदैगर्दा उहाँको आज विहान निधन भएको परिवारीक स्रोतले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य समेत रहनुभएका नेपालको काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा उपचार गरिएको थियो । तर उपचारकै क्रममा आज विहान निधन भएको हो ।
साहित्यकार,लेखक एवम प्राध्यापक समेत रहनुभएका पत्रकार नेपालको पार्थिव शरिरमाथि नेपाल पत्रकार महासंघको झण्डा ओढाएर अन्त्यष्टी गरिएको हो । नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सृजना अर्याल र चितवन शाखा अध्यक्ष नारायण अधिकारीले झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।
उहाँको निधनले चितवनको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षती पुगेको भन्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको थियो । सोही अवसरमा नेकपा एमालेको झण्डा समेत ओढाइएको थियो । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल,राष्ट्रिय सभा सदस्य पार्वती रावल, नेकपा एमाले वागमती प्रदेश कमिटी सह इन्चार्ज एवम केन्द्रीय सदस्य काशीनाथ अधिकारीले पार्टीको झण्डा ओढाउनुभएको थियो ।
नेपालको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । पछिल्लो समय उहाँ कालिका एफएममा आवद्ध रहनुभएको थियो ।
स्वर्गीय नेपाललाई आजै चितवनको भरतपुर–१०, रमाइलो चोकस्थित निवासमा ल्याएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा यही असोज २५ गते बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस भएर अर्धचेत अबस्थामा पुगेपछी उहाँलाई तत्काल एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौको ग्राण्डी अस्पतालमा पु¥याएर आइसियुमा राखेर उपचार जारी थियो ।
शिक्षण पेशमासमेत संलग्न उहाँले पछिल्लोपटक भरतपुरस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुल, नारायणी पोलिटेक्निक ईन्स्टिच्युट (एनपिआइ) कलेज,ग्रिन ल्याण्ड र उषा बोर्डिङ स्कुल मंगलपुरमा नेपाली विषय प्राध्यापन गर्नुहुन्थ्यो ।
उहाँका ओझेल परेका तस्बिरहरू गीतसङ्ग्रह (२०६१) र तस्बिरहरूको जुलुस कवितासङ्ग्रह (२०७२) सहित सहलेखनका रूपमा कविता र गजलका अन्य कृतिहरू पनि प्रकाशित छन् । गजल मञ्च चितवनका अध्यक्ष समेत उहाँ अक्षर समूह चितवनमा उपाध्यक्ष हुनुहुन्थ्यो । साहित्य संगम चितवनका संस्थापक साथै पूर्वअध्यक्ष समेत रहनुभएका पत्रकार द्वारिका नेपालको जन्म विस २०३२ साल वैशाख ११ गते रौतहट जिल्ला चन्द्रनिगाहपुर २ शान्तिनगरमा भएको हो । दुई दाजुभाइमध्ये उहाँ जेठो छोरा हो ।