चितवन। नेपालले आज साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्दै छ । फाइनलमा नेपालले भारतसँग खेल्ने तालिका रहेको हो । साफ च्याम्पियनसिपको इतिहासमै नेपाल फाइनलमा पुगेको यो पहिलो पल्ट हो ।
माल्दिभ्सको नेसनल स्टेडियममा भारतलाई हराउने योजना सहित नेपाल आज मैदानमा उत्रदै छ । माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे र नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको थिएन।
खेलको फाइनलमा दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन् । नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन ।
यस अघिका खेलमा दुई पहेँलो कार्ड पाइसकेका अल्मुताइरी उक्त अवसरबाट वञ्चित भएका हुन् भने भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए ।