कावासोती, असोज २५ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी एकथान मन्त्री मागेर खाने पार्टी नभएको प्रष्ट पार्नुभएको छ । देशको समग्र विकासका लागि विभिन्न पार्टीका नेता कार्यकर्ताको एकता भएर बनेको पार्टी भएकाले आगामी चुनावमा शसक्त पार्टी बन्ने बताउनुभयो उहाँको दावी थियो । उहाँले भन्नुभयो,“यो पार्टी केही थान मन्त्री मागेर खाने र राजनीतिक गर्नका लागि बनाएको होइन, देशमा संघीयता सहित समृद्धि ल्याउन निर्माण गरेको हो । ”
।
जसपा नवलपुरले आज कावासोतीमा आयोजना गरेको संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियानको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा भट्टराइले सो कुरा बताउनुभएको हो ।
संगठन बलियो नहुँदासम्म पार्टीले चाहेको नीति कार्यक्रम योजना कार्यान्वयन गर्न नसक्ने भन्दै उहाँले सवैलाइ जनताको घरघर गएर संगठन विस्तार गर्न निर्देशन दिनुभयो ।
आगामी चुनावमा ३० लाख भोट ल्याउन सके मात्र पहिलो पार्टी बन्न सकिने बताउदै सोही अनुसारको सगठन बलियो बनाउन निर्देशन दिनुभयो । अब साविकको पार्टी सिद्धान्त भुलेर अहिलेको पार्टी लाई मनमा लिदै पसीना बगाउन उहाँको अनुरोध थियो ।
एउटा घर बन्न आवश्यक पर्ने सवै सामाग्री प्राप्त भएको र यसलाई अव शुन्दर आकार दिएर घर बनाउन मात्रै वाँकी रहेको भन्दै अहिलेबाट चुनावी तयारीमा लाग्न नेता कार्यकर्तालाई उहाँको निर्देशन थियो ।
मसिर पुस सम्म विधान महाधिवेशन गर्ने बताउदै डा भट्टराइले नेतालाई रिजाएर पद पाउँछु भन्ने आश नगर्न आग्रह गर्नुभयो । जसले मेहनत र पसीना बगाउँछ उसैलाई जसपाले स्थान दिने समेत भट्टराईको भनाई थियो ।
वृहत लोकतान्त्रीक पार्टी बनाउने भन्दै जनताले नयाँ शक्ति भएको पार्टीै खोजेकाले गुण्डा र भ्रष्टबाट टाढा राखेर संगठन बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीे सघीयता र समृद्धि नै अहिलेको मूल एजेन्डा लिएर जनतामाझ गएको भन्दै छिमेकी र शक्तिशाली राष्ट्रहरुवीच सुमधुर सम्वन्ध बनाइराख्नुपर्ने बताउँदै डा भट्टराइले एमसीसी अनुदान भएकाले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पाँच वर्ष भित्र अनुदानको काम सक्नुपर्ने भएकाले सवैको अपनत्व र जिम्मेवारीका लागि मात्रै एमसीसी संसदबाट पारित गर्नुपर्ने बुदा रहेको र कहिँपनि अमेरिकी सेना आउनेवारे उल्लेख नभएको उहाँले बताउनुभयो । अमेरिकी सेना आउने हल्ला मात्रै फिँजाएको उहाँको तर्क थियो ।
अहिले पार्टीले चार महिने अभियान चलाएको भन्दै यो अभियानमा पाएको सुझाव अनुसार पार्टीले आफ्नो सिद्धान्त बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री हिसीला यामीले संगठन बलियो बनाए मात्रै राज्य सत्तामा पुग्न सकिने भन्दै कार्यकर्ता निष्कृय नभए मुख्य नेताहरु बेरोजगार बन्ने बताउनुभयो ।