चितवन, असोज २१ । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा भरतपुर महानगरले लिने महानगर प्रमुख रेनु दाहालले बताउनुभएको छ । जनस्तरबाट रकम संकलन गरी निर्माण गर्ने सहमति भएपनि पछिल्लो समय रकम संकलन हुन नसक्दा सोचेअनुसार काम हुन नसकेको मेयर दाहालले बताउनुभयो । भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र यदि रकम संकलन नभए जति निर्माण भएको छ त्यहीबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताउनुभएको हो ।
महानगरले जग्गा मात्रै उपलब्ध गराउने र आर्थिक लगायतका सवै पक्ष धुर्मुस सुन्तली फाउण्डेशनले जिम्मा लिने सम्झौता पत्रमा उल्लेख भएको बताउँदै जनस्तरबाट रकम संकलन हुन्छ भनेपनि महानगरले मात्रै हालसम्म ८ करोड सहयोग गरिसकेको जानकारी दिनुभयो । अहिले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारीक रुपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने उहाँको भनाई छ । रंगशाला निर्माणका लागि चितवनवासीले भरपुर सहयोग गरेको दाहालको भनाई थियो ।
गत साउन १५ देखि रंगशालाको संरचना निर्माण ठप्प छ । आर्थिक अभाव भएको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले निर्माण रोकिन पुगेको बताउनुभएको थियो ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले भने वोलकवोल गरेका रकम मात्रै सहयोग गरेपनि निर्माणकार्यले तिव्रता पाउने बताउँदै आउनुभएको छ । धेरैले महायज्ञमा बोलेका रकम दिएका छैनन् । करिव ३ अर्वमा निर्माण सक्ने लक्ष्य राखेपनि अहिले ३ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ भने अन्तराष्ट्रिय खेल मैदानमा दुवो रोपेर त्यसको हेरचाहा र दीगोपनलाई ध्यानमा राखेर दैनिक सरसफाई भइरहेको छ ।