साउन १० । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई नेपाली नागरिकलाई पर्यटन भिसामा जापान ल्याइएको खुलासा भएको छ । यसरी फर्जी कागजात बनाएर दर्जनौँ व्यक्ति जापान ल्याएर ठगी गरिएको खुलासा भएको हो ।
एनआरएनए जापानले एक व्यक्ति जारी गर्दै यो कार्यमा संलग्नलाई कारवाही माग सहित गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। एनआरएनए जापानका पदाधिकारी एनआरएनएका अभियन्ता सहितको नाममा एनआरएनए जापानको नामबाट नक्कली स्पोन्सर लेटर तयार पारी पर्यटक भिसामा ५० जना भन्दा बढि नेपाली नागरिकलाई जापान भित्र्याइएको हो ।
अहिले यस विषयमा एनआरएन र सम्वन्धित निकायले छानविन गरेका छन् । जापानबाट संचालित नेपाली संचारमाध्यमबाट समाचार प्रकाशित भएपछि यो तथ्य बाहिरिएको हो । अहिले एनआरएनए जापनले आवश्यक अनुसन्धान गरि कारबाही गर्नका लागि जापान सरकारका निकाय र नेपाल सरकारका सम्बन्धित निकायहरुमा जानकारी गराएको छ ।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले एक विज्ञप्ति जारी गर्दै संस्थाको नाम पद र आवश्यक कागजातको चरम दुरुपयोग गरि नेपाली नागरिकलाई जापान भित्र्याइएको घटनाले दुखित बनाउनुका साथै गम्भिर समेत बनाएको भन्दै तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न भनिएको छ ।
फर्जी कागजात बनाएर त्यसरी मानिस ल्याउने व्यक्ति ओसाकामा रहेका समिर लामा नाम गरेका व्यक्ति भएको र उनकै मुख्य भूमिका रहेको ठगीन पुगेका व्यक्तिहरुले जानकारी दिएका छन् ।
घटनाको सत्यतथ्य जानकारी लिन एनआरएनए जापानले अध्यक्ष नविन निउरेलाई पठाएको र थप जानकारी सहित आज पत्रकार सम्मेलन गरिने जनाइएको छ ।
जापानमा विभिन्न संघ सस्थाले समय समयमा अवार्ड, सेमिनार लगायतका कार्यक्रममा असम्बन्धित व्यक्तिहरुलाई आमन्त्रण गरि जापानी दुतावासमा ुफर्जीु कागजपत्र पेश गरेर दर्जनौ मान्छेहरु जापान प्रवेश गरेको गुनासो बेला बेलामा आइरहेको भएता पनि हाम्रो संस्थाको नाम, पद र संस्थासँग सम्बन्धित कागजात प्रयोग गरि हामीलाई नै पीडित बनाएको घटनाले यस कार्यमा ठूलै गिरोहको संलग्नता रहेको हामीलाई आशंका रहेको छ ।
पर्यटन भिसामा जापान आउन चाहने व्यक्तिहरूले जापानमा पर्यटक भिसामा आएर कुनै पनि काम गर्न मिल्दैन भन्ने कुराको जानकारी राख्नका लागि अनुरोध गर्दै जापान पर्यटन भिसामा प्रवेश गर्नु अगाडी यात्रा सल्लाह र कस्को नाममा जादै छु भनेर एक पटक बुझ्ने काम पनि गर्नु हुन अनुरोध गर्दछौं । विज्ञप्तिमा भनिएको छ ।
जापानमा पर्यटक भिसामा आएर काम गरेर पैसा कमाउन सकिन्छ भनेर झुटो प्रलोभनमा पारेर चर्को मुल्य तिरेर जापान नआउनका लागि समेत नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध समेत गर्दछौं । पर्यटन भिसामा जापानमा आएर कामको खोजी गर्दा यहाँको कानुन अनुसार कानुनी कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने बारेमा समेत सचेत रहनका लागि सम्बद्व सबैमा जानकारी गराउदै भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा विचौलियाहरुले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन र त्यस्तो कार्य गरिन लागेको बारेमा सरकारी निकायमा सूचना दिएर सभ्य जानकारीको पहिचान दिनका लागि समेत अनुरोध गर्दछौं ।
संस्थाको नाम पद र संस्थाका नक्कली कागजपत्र खडा गरेर यस्तो जघन्य अपराध गर्ने समुहलाई आवश्यक कडा भन्दा कडा कानूनी कारबाही गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय९ नेपाल सरकार सिआइबी लगायत सम्पूर्ण निकाय० संग जोडदार माग गर्दछौं। संस्थाको नाम र संस्थामा आबद्ध रहेका पदाधिकारीहरुको नामको दुरुपयोग गरि फर्जी कागजात बनाई यस खालको जघन्य अपराध गरेको हुनाले यस संस्था र संस्थासँग सम्बन्धित कोहि व्यक्ति पनि कुनै प्रकारको कार्यमा संलग्न नरहेको स्पष्ट पार्दै त्यसखालको भ्रममा नपर्नका लागि सम्पूर्णमा अनुरोध समेत गर्दछौं । अनुसन्धानका क्रममा संस्थाका कोहि यस कार्यमा रहेको पुष्टि भएमा संस्थाले त्यस्ता व्यक्तिलाई संस्थागत रुपमा गरिने कारबाही गर्ने र कानूनी कारवाहीको लागि सम्बन्धित निकायलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ,विज्ञप्तिमा भनिएको छ ।
यस्ता गैर कानूनी कार्यको एनआरएनए जापानले सदा कडा रुपमा विरोध गर्दै आइरहेको र आउने दिनमा पनि यस्ता गतिविधिमा संलग्न हुनेलाई कानूनी कारवाही गर्नका लागि सम्बन्धित निकायहरुलाई पूर्ण रूपमा सहयोग गर्ने विश्वास दिलाउँदै त्यस्ता कार्यमा संलग्न रहेको कोहि कसैलाई सूचना प्राप्त भएमा एनआरएनए जापानको हटलाइन नम्बर ०८० ६३५२ ८२८६ र भाइबरमा पनि सम्पर्क गर्न सकिने बताइएको छ । बिहान १० बजे बाट साझ ६ सम्म सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।