नवलपुर । वर्षा नरोकिएपछि नारायणगढ बुटवल सडक खण्डको विस्तारको कार्य रोकिएको छ । वर्षातमा सडक विस्तारभन्दा सवारी आवातजावतका लागि सहजीकरण गर्नुपर्ने भएकाले विस्तारको कार्य रोकिएको आयोजनाले जनाएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइने बताइएको छ ।
विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको छ। नारायणगढ बुटवल सडकको एक सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ ।
समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ ।



