जेठ २६ । आजका लागि तोकिएको नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै चुनाव स्थगित भएको जानकारी दिनुभएको हो ।
‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने विज्ञप्तिमा भनिएको छ ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने भनिएको छ ।
अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको छ ।
महासंघको सुद्धिकरण अभियान अन्तर्गत सुर्खेतमा साधारणसभा भएको थियो । सदस्य शुद्धीकरणबारे अध्ययन गर्न महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा महासंघका पूर्व महासचिव उजिर मगर, पूर्व सचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण रहेको शुद्धीकरण समिति बन्यो ।
सो समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो । सदस्य शुद्धीकरणकै विषयलाई लिएर केही हप्ताअघि नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।