चितवन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हिजो राष्ट्रपति कार्यालय, शीतल निवासमा विशेष समारोहका बीच नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो । पौडेले फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिनुभएको थियो ।
सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो ।
नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।