काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनियताको शपथग्रहण आज हुँदैछ । राष्ट्रपतिमा निर्वाचित पौडेलले शपथ ग्रहणपछि आजै पदभार ग्रहण गर्नुहुने कार्यक्रम रहेको हो ।
राष्ट्रपति भवनमा विशेष समारोहकोबीच दिउँसो एक बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको हो । मुलुकको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलले कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीबाट शपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ ।
फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहणपछि निवर्तमान हुनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीले करिब साढे एक बजे राष्ट्रपति भवन छोड्नु हुनेछ । राष्ट्रपति भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित निजी निवासमा सर्नुहुने छ ।
उहाँ दुइ कार्यकाल गरी करिब साढे सात वर्ष राष्ट्रपति रहनुभएको छ । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।



