चितनव । चितवनका दुग्ध उत्पादक कृषकहरुले मूल्य बढाउन माग गरेका छन् । अहिले लागत अनुसार मूल्य नपाएको भन्दै उनीहरुले सरकारी निकायको ध्यानाकर्षण गराएका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएर सो माग राखेका छन् ।
जिल्ला प्रशासन कार्यालयमै गएर किसानहरुले उक्त ध्यानाकर्ष पत्र बुझाएका हुन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग संघले राखेको छ ।
चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमार्डौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ ।
लागतअनुसार दूधको मूल्य बृद्धि नहुँदा व्यवसायमा लागेका किसानहरु वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था सिर्जना हुनसक्ने र यस्तो अवस्था आएमा अर्थतन्त्र थप नकरात्मकतातिर गई आयातीत दूधको उपभोग गर्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने भन्दै ज्ञापनपत्रमा सजग बनाइएको छ । संघले चितवन जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने ऐतिहासिक कार्य गरेको र पशुपालन तथा दुग्धजन्य व्यवसायबाट कसैले पनि पलायन हुन नपरोस् भनेर लागतअनुसार मूल्य बृद्धि हुनुपर्ने माग गरेको बताइएको छ।