चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिईएको हो । २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ गरिएका उनीहरुमाथि ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उहांँले बताउनुभयो । उनीहरुबाट एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको सो अवसरमा जानकारी दिइएको थियो । सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ । उनीहरूको साथबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताउनुभयो । हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागु औषधसम्बन्धी एक सय छवटा निवेदन दर्ता गरिएको छ ।