नवलपुर । गण्डकी प्रदेशभर चालु वर्षको पौष मसान्त सम्म ४०२ वटा सवारी दुर्घटना भएको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुवेदीका अनुसार सो दुर्घटनामा परेर २१३ जनाको मृत्यु भएको छ । यो २०७८ माघ देखि २०७९ पौष मसान्त सम्मको तथ्याङ्क हो । यो अवधिमा ३८१ जना गम्भिर घाइते, २४५ जना सामान्य घाइते भएका छन् । जसमा ५१४ वटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
अघिल्लो वर्ष अर्थात २०७७ माघ १ देखि २०७८ पौष मसान्त सम्मको विवरणको तुलनामा भने कमी आएको हो । सो अवधिमा ४१५ दुर्घटनामा २५१ जना मानिसको मृत्यु भएको थियो । जसमा २७४ जना गम्घिर घाइते, २७० जना सामान्य घाइते र ५५४ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
सुवेदीका अनुसार पौष मसान्त सम्म ६ हजार २६२ वटा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको थियो । जसमा ९ लाख ६० हजार १४६ जना सहभागी भएका थिए ।
त्यस्तै २ लाख २५ हजार ५६३ सवारी साधनहरुलाई कारवाही गरिएको छ । सो संख्यामा गरिएको कारवाहीबाट १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बृद्धि हो । अघिल्लो वर्ष ५ हजार ३८ वटा जनचेतनामूलक कार्यक्रम गरिएकोमा ४ लाख ७६ हजार ८५४ जना सहभागी भएका थिए । त्यस्तै अघिल्लो वर्ष १ लाख ३३ हजार ८६४ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ८७ लाख २ हजार राजश्व संकलन भएको छ ।
सवारी साधन दुर्घटनामा न्यूनिकरण गराउन प्रहरीले सडक सुरक्षाका उपायहरु सम्वन्धित कार्यक्रम, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम, कृत्रिम सडक दुर्घटना उद्दार तथा व्यवस्थापन, वातावरणमैत्री ट्राफिक व्यवस्थापन, हुस्सु लागेको र रातको समयमा टल्कीने स्टिकर टाँस्ने अभियान,ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनहरुलाई निरन्तर कडाइका साथ कारवाही गर्ने अभियान तथा ट्राफिक प्रहरीले प्रयोग गर्ने २४ घण्टे पूर्जीमा एकरुपता कायम गरी अभिकतम ५ हजार जरिवाना गर्ने ब्यवस्था मिलाइएको सुवेदीले जानकारी दिनुभयो ।



