चितवन , कार्तिक २० । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले कालिका नगरपालिकालाई हरित औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ को साझा उम्मेदवार श्रेष्ठले कालिका नगरपालिकामा हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारी बृद्धि गर्ने योजना रहेको बताएका हुन् । ‘यो क्षेत्रलाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन तथा रोजगारीमा बृद्धि गर्नेछु ।’ श्रेष्ठले भने ।
आइतबार चुनावी घरदैलो कार्यक्रम अन्तर्गत कालिका नगरपालिका वडा नम्बर १, २, ४ र ५ मा मतदाताहरुसँगको कुराकानीमा श्रेष्ठले हरियालीपूर्ण औद्योगिक क्षेत्रको विकास गरी एकातिर बेरोजगारीको अन्त्य र उद्योगको विकास गर्दै पर्यटन प्रवद्र्धन गरी आयआर्जन समेत गर्न सकिने बताए । यसका लागि यहांँको सडकको पूर्वाधारको खांँचो हुने उनको भनाई थियो । आफूलाई मतदाताले विश्वास गरी निर्वाचन जिताउन आग्रह गरे ।
सो अवसरमा बोल्दै प्रदेश २ क का प्रदेश सभासदस्य घनश्याम दाहालले आफूले यसअघि प्रदेश सांसद भएर कालिकाको मुहार फेरिसकेको बताउंँदै अधुरा काम सम्पन्न गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।
यसैबीच, नेपाल सरकारका राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले आइतबार नै भरतपुरमा चितवन क्षेत्र नम्बर २ वाम–लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गरेका छन् । उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै शिक्षा नै सर्वोपरि भएकोले सामुदायिक शिक्षाको विकासमा आफूले योगदान गर्न चाहेको बताए । उनले शिक्षाको विकास विना देशको आर्थिक समृद्धिको यात्रा समेत अधुरो हुने बताए ।