चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले संघ र प्रदेशसभा चुनावमा जनमत बढाउने गतिविधिलाई तीव्र पार्ने भएको छ । स्थानीय निर्वाचनमा राप्रपा चितवनबाट उम्मेदवार भएकाहरुलाइ भरतपुरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा चितवनमा राप्रपाको पक्षमा बढ्दो जनलहरलाई अझ बढाउने गरि चुनाव लक्षित गतिविधिहरु हुने भएको छ । राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङले विगतभन्दा चितवनमा राप्रपाको पक्षमा जनमत निकै बढेकाले आगामी चुनावमा थप जनमत बढ्ने दाबी गर्नुभयो ।
“निर्वाचन नजिकिएका छन्, चुनावी अभियानमा सबै लाग्नुपर्नेछ”, उहाँले भन्नुभयो, “राप्रपाप्रतिको जनविश्वासलाई अझ लोकप्रीय बनाउन लाग्नुपर्नेछ ।” उहाँले राष्ट्रियतानै संकटमा परेकाले जनता बेलैमा सजग हुनुपर्ने बताउनुभयो । अनुदान, परियोजना तथा भ्रमणका बहानामा नेपालमा वैदेशिक हस्तक्षेप बढेको बताउनुभयो । “देशको राष्ट्रियतानै संकटमा पुगेको छ, अब राष्ट्रवादी शक्ति राप्रपालाई जनताको घर–घर पु¥याउन जरुरी छ”, उहाँले भन्नुभयो, “ठुला भनिएका दलहरु असफल भैसकेका छन्, अब राप्रपा बाहेक अरु विकल्प छैनन् ।”
राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राप्रपाका एजेण्डा र जनपक्षीय कामहरुले जनमत अझ बढ्ने बताउनुभयो । भरतपुर महानगरका उपमेयरका उम्मेदवार हिमला गुरुङले राप्रपाले स्थानीय तह चुनावमा पाएको जनमतलाई अझ बढाउन संगठनहरुलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो । बधाई तथा सम्मान कार्यक्रममा माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारी, भरतपुर–१२ का वडासदस्य सञ्जय थापा, खैरहनी–१ का वडा सदस्यका उम्मेदवार अरुण नेपालले राप्रपालाई संघ र प्रदेश चुनावमा अझ बलियो र शसक्त बनाइने बताउनुभयो । जोगाउन राप्रपानै सक्षम रहेको बताउनुभयो । राप्रपाबाट यसपाली स्थानीय तह चुनावमा चितवनमा ११ जना निर्वाचित भएका छन् ।
जसमध्ये माडी १ र ८ मा वडाध्यक्ष, भरतपुर महानगरमा ४ जना र माडीमा ५ जना वडा सदस्यमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह चुनावमा चितवनबाट १ जनामात्रै वडा सदस्यमा निर्वाचित भएका थिए । यसपाली स्थानीय तहको चुनावमा चितवनबाट राप्रपाका ३ सय ६३ जना उम्मेदवारहरु थिए । जसमध्ये ४ जना मेयर, ६ जना उपमेयर, ७० जना वडाध्यक्ष र २ सय ८३ जना वडासदस्यका उम्मेदवार बनेका थिए । राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेको थियो ।
यसैबीच, यही असार २३ गते निधन हुनुभएका राप्रपाका युवा नेता अनुज लोहनीको परिवारलाई राप्रपा चितवनले आर्थिक सहयोग गरेको छ । ७५ हजार १५ रुपैयाँ नगद सहयोग गरिएको थियो । स्वर्गीय लोहनी स्थानीय तह चुनावमा भरतपुर–७ बाट वडा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।