चितवन । असारकाे १५ सकिदा चितवनमा ३० प्रतिशत राेपांइ सकिएकाे छ । जिल्लामा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला वर्षे धान रोप्ने काम भइरहेको छ । जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेकाअनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ भइसकेको छ । माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको उनले बताए । जिल्लामा वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ३.६ मेट्रिक टन छ ।
‘धान प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष महत्व दिएको छ । धान खेती प्रवर्द्धनका लागि भनेर सरकारले दुई करोडबढी रकम दिएको छ’। धान, मकै र गहुँको विउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रुपैयाँ प्राप्त भएको उहाकाे भनाइ छ ।
नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उनी बताउँछन् । त्यसको अलवा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ ।
धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुनेमा जाेड दिईएकाे छ। सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको कार्यालयकाे दाबी छ।



