चितवन । १५ जना युवा उद्यमीकाे लगानीमा भरतपुर ८ चितवनमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । २ बीघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।
चितवनमा आगामी आर्थिक वर्ष २०७९/०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिनुभयाे । ट्रायल सेन्टर वैशाखको पहिलो सातादेखि सञ्चालनमा आउने छ । २४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उहाको भनाइ छ ।प्रशिक्षण केन्द्रमा दुईचक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ । एकैदिनमा ३ हजार जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।
सरकारले प्रशिक्षण केन्द्रलाई छनौट गरेको खण्डमा दैनिक १ हजारसम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ्ग, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहेको छ ।
हाल प्रशिक्षण केन्द्रमा १५ ओटा कार, ५० ओटा मोटरसाइकल, २५ ओटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने जानकारी दिनुभयाे । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् ।
योसँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ ओटा सवारी चालक प्रशिक्षण केन्द्र पनि रहेका छन् ।



