चितवन । हावाहुरीले अवरुद्ध चितवन भरतपुरकाे विधुत सेवा अझै संचालनमा आएकाे छैन । शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीकाे पोल ढालेपछि सेवा अवरूद्ध भएको थियाे।
विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध छ । हावाहुरीले झण्डै १ सय पोल ढलेका छन् भने ठाँउठाँउमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले ६ टोली परिचालन गरेको सिंहले बताउनुभयो । अस्पताल र सुरक्षा निकायलाई पहिलो प्राथमिकतामा राखेर विद्युत सूचारु गरिएको जानकारी दिनुभयाे ।
आंशिक रुपमा विद्युत सूचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन अझै पाँच दिन लाग्ने उहाँको भनाइ छ । भरतपुर पश्चिम क्षत्रमा बिजुली भएपनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म बिजुली छैन । शनिबार साँझबाट बिजुली सेवा सुरू गर्ने उद्देश्यले दिनभर काम भएको थियो । तर विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । शनिबार राति अवेरसम्म संवेदनशील क्षेत्रमा आपूर्ति सुरू गर्ने योजनाका साथ काम जारी राखेको प्राधिकरणले जनाएको छ । बिजुली लामो समय नहुँदा स्थानीय समस्यामा छन् । मोबाइल फोन सेवासमेत प्रभावित छ ।