गैँडाकोट । देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भनेपनि विभिन्न ठाउँमा झडप,कुटपिट र विवाद भए । वैशाख ३० गते विहान सात बजेदेखि सुरु भएको निर्वाचनमा धाँधली हुन थालेपछि विभिन्न ठाउँमा विवाद, झडप भएका हुन् ।
जसका कारण १६ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा विवादपछि मतदान स्थगित भएको आयोगले जनाएको छ । ती स्थानहरुमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन आयोगले निर्वाचन अधिकृतबाट पुन मतदान हुने मिति र समय यथाशीघ्र तोकेर सुचना प्रकाशन गर्ने जनाइएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदानकेन्द्रमा मतदान स्थगित भएको जानकारी नभएको आयोगले स्पष्ट पारेको छ ।
देशैभर एकसाथ भएको स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको थियो । देशैभर ६४ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रारम्भिक विवरण अनुसार दिइएको जानकारी हो ।
आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अनुमान गरेको थियो । देशैभरको तथ्याङ्क हेर्दा बढीमा ७५ प्रतिशत र कम्तिमा ५० प्रतिशत मत खसेको छ । निर्वाचनको ६८ संस्थाका करिब ५० हजार पर्यवक्षकले निर्वाचनको अनुगमन गरेका थिए । निर्वाचन आयोगका अनुसार देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले यस पटकको निर्वाचनमा मत हाल्न पाउने थिए । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला थिए भने १८३ जना अन्य रहेका थिए । १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट भोट हालिएको थियो ।