गैँडाकोट । देशैभर एकसाथ भएको स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको थियो । देशैभर ६४ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रारम्भिक विवरण अनुसार दिइएको जानकारी हो ।
आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अनुमान गरेको थियो । देशैभरको तथ्याङ्क हेर्दा बढीमा ७५ प्रतिशत र कम्तिमा ५० प्रतिशत मत खसेको छ । निर्वाचनको ६८ संस्थाका करिब ५० हजार पर्यवक्षकले निर्वाचनको अनुगमन गरेका थिए । निर्वाचन आयोगका अनुसार देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले यस पटकको निर्वाचनमा मत हाल्न पाउने थिए ।
जसमा ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला थिए भने १८३ जना अन्य रहेका थिए । १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट भोट हालिएको थियो ।