गैँडाकोट । चुनाव आउन अझै २ दिन बाँकी छ । तर विभिन्न राजनीतिक दलका ३५५ जना हालसम्म निर्विरोध निर्वाचित भइसकेका छन् । आवश्यक पदमा एक भन्दा बढीको उम्मेदवारी नपरेमा वा आवश्यकता अनुसारको मात्रै उम्मेदवारी परेमा त्यो निर्विरोध हुने गर्दछ ।
निर्वाचन आयोगका अनुसार हालसम्म विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रहरुवाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् ।
मतदानकेन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ–आफ्नो मतदानकेन्द्रमा पुगी सकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनि देता भएका ७० वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८० हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिई सकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको जनाएको छ ।
वैशाख २८ र २९ गते सबै मतदानस्थलहरुमा मतदानकेन्द्रका लागि खटिएका मतदान टोलीहरुबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दता गराएका नया मतदाता परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निवांचन कार्यालयहरुमा निवेदन दिएका मतदाताहरुलाई वैशाख २८ र २९ गते सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिने छ ।
बढी भन्दाबढी मतदाताहरुलाई मतदान सम्बन्धी जानकारी उपलब्ध गराउन सरकारी यचार माध्यम लगायत आम संचार माध्यमहरु तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्यदृश्यको माध्ययमबाट विभिन्न जानकारीमूलक सन्देशहरू प्रसारण समेत भै रहेका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने सम्पूर्ण जनशक्तिहरुलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्य समेत सम्पन्न भइसकेको आयोगले जनाएको छ ।