गैँडाकोट । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरेर आज गैँडाकोटमा नमूना मतदान कार्यक्रम हुने भएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकमीका अनुसार विहान ११ बजेदेखि निर्वाचन अधिकृतको कार्यालय परिसरमा सो कार्यक्रम गरिनेछ ।
मतदान गर्ने विधि सिकाउने तथा बदर मत कम गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।
सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई ५ देखि ७ जना सचेत मतदाता उपस्थित गराउन जानकारी गराइएको उहाँले बताउनुभयो । सचेत मतदाता बाट समेत के कति मात्रामा मत बदर हुने, गठबन्धनका उम्मेदवारलाई भोट दिँदा हुने अलमल र पहिलो पटक मतदान गर्ने मतदातालाई सचेत गराउनका लागि कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।
नमुना मतदान कार्यक्रममा मतदान केन्द्र निर्माण, मतपेटिका बाकस राख्ने स्थानको छनोट, मतपत्र बितरण तथा परिचय पत्रको चेकजाँच रूजु गर्ने, मतपत्र पट्याउने तरिका, मतदान कार्यक्रम, मतपत्रमा स्वस्तिक छाप लगाउँदा सदर हुने र बदर हुने अवस्था, मतपेटिका बाकस सिल गर्ने, मुचुल्का उठाउने, मतपेटिका बाकस सिल तोडी मतगणना गर्ने र नमुना मतदानको परिणाम घोषणा गर्नेसम्मका चरणहरूबारे जानकारी गराईने निर्वाचन अधिकृत मुनाकमीको भनाई छ ।
यो पटकको निर्वाचनमा गैँडाकोटबाट ४७ हजार ७१५ जनाले मतदान गर्न पाउनेछन् । २१ वटा मतदान स्थलका ५५ वटा मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् ।कूल मतदाता मध्य २५ हजार ७९ जना महिला र २२ हजार ६३६ पुरुष रहेका छन् ।