बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरिदै छ । नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।
विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २६० जनाको टोली आउनेछ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारे जानकारी लिनेछ ।
परीक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयाे। व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो ।
.