चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाको सरुवा भएको छ । सरुवा भएपछि उहाँलाई हिजो एक कार्यक्रम गरी विदाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । देशभरका प्रहरी निरीक्षकको एकसाथ सरुवा हुँदा थापाको ईलाका प्रहरी कार्यालय हंसपुर कास्कीमा सरुवा भएको हो ।
थापाले २०७८ वैशाख ८ गतेदेखि चितवन ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । थापाले आफ्नो कार्यकालमा अत्याधिक सवारी दुर्घटना हुने जिल्लाको उपमा पाएको चितवनमा त्यसको न्यूनिकरणका लागि निरन्तर काम गर्नुभयो । आफै फिल्डमा खटिएर सवारी चेकजाँच देखि ट्राफिक व्यवस्थापन गर्ने र राजश्व संकलन भन्दा बढी सवारी ऐन नियमको जानकारी दिनेमा उहाँ केन्द्रीत हुनुभयो । थापाले भन्नुहुथ्यो,“प्रहरीको काम राजश्व संकलन गराउनुभन्दा ट्राफिक ऐन नियमबारे जानकारी गराउने र दुर्घटना न्यूनिकरण गराउनु हो । ”
थापाकै नेतृत्वमा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको समन्वयमा चेकजाँच हुँदा अवैध मोटरसाइकलहरु बरामद भएका थिए । ट्राफिक प्रहरीले ट्राफिक नियम र यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीले लाइसेन्स, बीलबुक चेकजाँच गर्दा धेरै अवैध मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थापाको भनाई छ ।
थापाले कोभिडको समयपनि व्यवहारिकतालाई हेरेर सवारी आवतजावतमा सहज बनाउनुभएको थियो । पटक पटक ट्राफिक ऐन नियम उल्लघंन गर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउनुभएको थापाले चालु आर्थिक वर्ष २०७८/०७९ को चैतसम्म २४ हजार ४ सय ६४ सवारी साधनलाई कारबाही गर्दा २ करोड २३ लाख २४ हजार पाँच सय राजश्व संकलन भएको छ ।
सवारी साधनको तुलना गर्दा सवैभन्दा बढी कारबाहीमा ६ हजार ५७६ मोटरसाइकल परेका छन् । त्यसबाट ५५ लाख १० हजार पाँच सय राजश्व संकलन भएको छ । ५ हजार ५९३ जिप कार कारवाहीमा पर्दा ५२ लाख ३ हजार, ४ हजार ६४९ ट्रक टिपरलाई कारवाही गर्दा ५० लाख २५ हजार , ३ हजार ३६१ वटा टेम्पोलाई कारवाही गर्दा २५ लाख ७३ हजार, ३ हजार १०१ बस माइक्रोलाई कारवाही गर्दा २८ लाख ७८ हजार ५ सय रुपैयाँ र १ हजार १७६ वटा ट्याक्टरलाई कारवाही गर्दा ११ लाख ३४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
महिना अनुसारको कारवाही तथ्याङ्क हेर्दा सवैभन्दा बढी कार्तिक महिनामा सवारी साधन कारवाहीमा परेका छन् । उक्त महिना ३ हजार २ सय ८९ सवारी कारवाहीमा पर्दा ३० लाख १६ हजार पाँच सय राजश्व संकलन भएको छ ।
आश्विनमा ३ हजार २३ सवारी कारवाहीमा पर्दा २७ लाख २६ हजार, पौष महिनामा २८ सय ९० सवारी कारवाहीमा पर्दा २६ लाख ४१ हजार, श्रावणमा २७ सय ५७ सवारी कारवाहीमा पर्दा २५ लाख ७३ हजार पाँच सय, भाद्रमा २६ सय ८७ सवारी कारवाहीमा पर्दा २३ लाख ७८ हजार, चैतमा २५ सय २६ सवारी कारवाहीमा पर्दा २३ लाख ९ हजार पाँच सय, माघ महिनामा २४ सय ७३ सवारी कारवाहीमा पर्दा २२ लाख ४८ हजार पाँच सय, मंसिरमा २४ सय ६३सवारी कारवाहीमा पर्दा २२ लाख ४४ हजार पाँच सय र फाल्गुनमा २३ सय ५६ सवारी कारवाहीमा पर्दा २१ लख ८७ हजार राजश्व संकलन भएको छ ।
अहिले चितवन ट्राफिकको जिम्मेवारी सम्हाल्न गोरखाबाट सरुवा भएर धर्म बहादुर अधिकारी आइसक्नुभएको छ । उहाँलाई पनि थापाको विदाईका दिन स्वागत गरिएको थियो ।