गैँडाकोट । विद्यालयका एक शिक्षकले कक्षा १२ को छात्रालाई दुव्र्यवहार गरेको घटनालाई लिएर जनक मावि गैँडाकोट ५ मा भएको आन्दोलनमा १५९ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
घटना चैत ३० को भएपनि विद्यार्थीले न्याय माग्दै हिजो आन्दोलन गरेका थिए । सो विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले सोही विद्यालयमा अध्ययनरत कक्षा १२ को छात्रालाई अश्लिल भिडियो पठाएपछि शिक्षकलाई कारबाहीको माग राखेर विद्यार्थीले हिजो आन्दोलन गरेका हुन् ।
न्याय दिन माग गर्दै विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिव २०० जना विध्यार्थीहरुले बिरोध स्वरुप नाराबाजी गर्नुको साथै विद्यालयको झ्याल ढोकामा ढुङ्गामुढा प्रहार गरी तोडफोड गरेका थिए । उनीहरुले विद्यालय परिसर भित्र पार्किङ गरी राखेको शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल र विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कडेंलको प्र.३–००२ प २७७६ नम्बरको मोटरसाइकल जलाएका थिए । जलेर मोटरसाइकल पूर्णरुपमा क्षती भएको छ ।

उक्त अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व), ईलाका प्रहरी कार्यालय गैडाकोट र रजहर बाट ६४ जना, नेपाल प्रहरी र श्री शसस्त्र पहरी बल ३१ नं.गुल्म पितौजीबाट २५ जनाको टोली खटिएको थियो । सुरुमा खटिएको सो टोलीले भिडलाई सम्झाई बुझाई गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको बताइएको छ ।
साथै विद्यालय भवनमा ढुङ्गा मुडा प्रहार गरी तोडफोड गरेर मोटरसाइकल जलाएपछि भिङ लाई नियन्त्रणमा लिन बल प्रयोगको चेतावनी दिई न्युनतम बल प्रयोगको सिद्धान्त अनुरुप प्रहरीबाट जम्मा ६० सेल अश्रुग्याँस प्रहार भएको नवलपुरका प्रहरी प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो ।
भिड नियन्त्रणमा नआएपछि थप मद्धतको लागि नेपाल प्रहरी शिक्षलय बाट प्रहरी निरीक्षकको कमाण्डमा ५० जना र जिल्ला प्रहरी कार्यालय चितवन बाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा २० जनाको टोली समेत खटिएको पाठकले जानकारी दिनुभयो ।
सूचना अधिकारी डिएसपी पाठकका अनुसार आन्दोलनकर्ता विद्यार्थीहरु कुनै घाइते नभएको तर प्रहरीतर्फ भने प्रहरी निरीक्षक सहित ८ जना सामान्य घाइते भएका छन् ।

आरोप लगाइएको शिक्षकलाई हाल जिल्ला प्रहरी कार्यालय नवलपुरमा अनुसन्धानका लागि राखिएको पाठकले जानकारी दिनुभयो ।
विद्यालयतर्फको क्षती विवरण भने आइसकेको छैन ।




