भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म चुनावी तालमेल टुंगोमा पुग्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले समस्या विनानै तालमेलको टुंगो हुने दावी समेत गर्नुभयो । भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे विवाद नरहेको जीकिर गर्दै भन्नुभयो, “चुनावका बेला एउटै पार्टीभित्र विवाद हुन्छ, बहस हुनछ,गठबन्धनमा पनि छलफल हुनु स्वभाविक हो, लाष्टमा टुंगिन्छ ।”
उहाँले महानगरको नेतृत्व चयन आरामले हुने दावी गर्नुभयो । महानगर र उपमहानगरको नेतृत्वबारे आज बेलुकासम्म सिफारिस गर्ने तयारी भएको समेत प्रचण्डको भनाई थियो ।
चुनावी तालमेलबारे स्थानीय तहमा विवाद रहेपनि अन्त्यमा ती सबै विवाद समाधान हुने जीकिर समेत गर्नुभयो । उहाँले दिउँसो नवलपुरको दलदलेमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुने जनाइएको छ ।