भरतपुर । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताउनुभएको छ । भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
‘यो साल राष्ट्रवादीहरुको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस्’, उहाँले भन्नुभयो, ‘फलानो पार्टी भनेर नलाग्नुस्, देश बचाउन लागौं ।’
एमसीसी चक्रव्युहले देशलाई अँध्यारो बनाउने षड्यन्त्र भैरहेको बताउनुभयो । भ्रष्टाचार रहित देश बनाउन जनताले राप्रपालाई रोज्ने बताउनुभयो । पञ्चायतकालको ३० वर्षमा खुलेका उद्योग, कलकारखानाहरु कौडिको मूल्यमा बेचेर भ्रष्टाचार भएको बताउनुभयो ।
‘अब देशमै प्रयाप्त विद्युत उत्पादन गर्न नेपालीहरुलेनै हाइड्रोपावरमा लगानी गरौं’, उहाँले भन्नुभयो, ‘विश्वकै हाइटेक उद्योगहरु नेपालमा स्थापना हुनेछन्, रोजगारी सृजना हुनेछन् ।’ उहाँले राप्रपाप्रति जनताको विश्वास बढेको बताउनुभयो ।



