डोलराज रानाभाट,चितवन ।
सडक साँघुरो र घुम्ती धेरै हुँदा दुर्घटनाको जोखिम बढेपछि मुग्लिन नारायणगढ सडकखण्डमा अहिले पक्की पुल निर्माण भइरहेको छ ।
पहिला निर्माण गरिएको पुल समेत पूरानो, जिर्ण र साँघुरा थिए । यो खडकखण्डमा मात्रै नयाँ १५ वटा पक्की पुल निर्माणको कार्य भइरहेको इन्जिनियर दीपीका घोरासैनीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा नै १५ वटै पुलको निर्माण सुरु हुनेछ । जसमा ९ वटा सम्पन्न हुने चरणमा छन् भने ६ वटाको निर्माण सुरु भएको घोरासैनीको भनाई छ ।

उहाँका अनुसार एएनके कन्स्ट्रक्सनले पक्की पुल निर्माणको जिम्मा लिएको छ । प्याकेज १ र प्याकेज २ गरी पुल निर्माणको कार्य भइरहेको हो ।
प्याकेज १ अन्तर्गत खहरे, तुइन, चिसेन्जी,नाम्सी,टोपे, कालिखोला र रिग्दीमा ७ वटा पुल बनाइदैछ भने प्याकेज २ अन्तर्गत सिमलताल, डुम्रे, खोर, सेतीदोभान,लामोवालुवा,भोर्ले, जुगेडी, खहरेमा गरी ८ वटा पुल निर्माणको कार्य भइरहेको छ । तुइन र चिसेन्जीमा भौगोलिक वनावट चट्टान भएकाले काम ढिला भएपनि सुरु भइसकेको उहाँको भनाई छ ।
सवै पुल निर्माणका लागि १ अर्ब २७ करोड ५ लाख १८ हजार ६५० रुपैयाँ लागत लाग्ने इन्जिनियर घोरासैनीको भनाई छ ।
प्याकेज १ का लागि ६७ करोड ९९ लाख ५९ हजार ५५० रुपैयाँ विनियोजन गरिएको छ भने प्याकेज २ का लागि ५९ करोड ५ लाख ५९ हजार १ सय रुपैयाँ छुट्याइएकोछ ।
कालि, खहरे र रिग्दीमा भने आर्क डिजाइनको पुल बनाइने छ । निर्माण सम्पन्न भएपछि जिर्ण र पूराना पुलहरुहुँदै यात्रा गर्नुपर्ने जोखिम हट्नुका साथै घुम्ती धेरै नहुँदा दूरी समेत कम हुने बताइएको छ । साथै अहिले वर्खाको समय भासिएका सडकखण्डको समेत मर्मत भइरहेको छ ।
नागढुङ्गा मुग्लिन नारायणगढ सडक आयोजना अन्तर्गत अहिले तीन प्रकारका काम भइरहेको इन्जिनियर घोरासैनीले बताउनुभयो । पहिलो यही १५ वटा पुल निर्माणको काम जारी छ ।

अर्को विभिन्न समयमा भासिएका सडकहरुको दीर्घकालिन मर्मत भइरहेको छ । २४,२६ र १७ किलोमिटरमा भासिएको सडकलाई तलैबाट पायल विधिबाट मर्मत भइरहेको उहाँले बताउनुभयो ।
८० वटा पायल लगाएर सधैँ भासिरहने समस्याको समाधानका लागि काम भइरहेको उहाँले बताउनुभयो । अर्को मुग्लिनदेखि नागढुङ्गा सम्मको सडक विस्तार समेत भइरहेको छ । अहिले ठाउँठाउँमा विस्तारको काम भइरहेको बताउँदै कृष्णभीर, जोगिमारा जस्ता जोखिमा क्षेत्रमा अपग्रेड गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।




